'प्रहरीमा जस्तो जालझेल छैन धनुकाँडमा'


पूर्व एआईजी रामकाजी बान्तवा (रुङमाहाङ)
सुन्दर खनाल/सुजित महत
काठमाडौ, भाद्र १८ - प्रहरीको जागिर छाड्ने हठात निर्णयसँगै उनले एक महिना बिदा र राजीनामाको निवेदन लेखे । र, घर बसे । जागिर नछाड भन्ने सल्लाह दिन साथीभाइ आएकोआयै भएर हलचल गर्न नपाएपछि उनी पत्नीलाई लिएर सुटुक्क पोखरा हानिए । त्यहाँ तुरुन्तै मन बस्यो विल्कुल नौलो चिज, धनुकाँड अर्थात् आर्चरीमा ।

सलाम, सान र चाहेमा दामको समेत कमी नहुने प्रहरीको हाकिम र धनुकाँड खेल्ने साठी नाघेका वृद्ध । यी दुई फरक परिचयमा तत्कालीन एआईजी रामकाजी बान्तवालाई पछिल्लै मन पर्‍यो । 'प्रहरीमा जस्तो धनुकाँडमा जालझेल छैन,' उनले भने ।



धनुकाँडको प्रेममा परेको १२ वर्ष बितिसक्यो । खोलै र्फकने यो अवधिमा उनले विगत भुल्न चाहे, महत्त्वाकांक्षा र दौडादौडको जीवन खोजेनन् । 'हतियारप्रेम हाम्रो जातिको रगतमै होला सायद,' उनी भन्छन्, 'पोखरामा एक चोटि समात्नेबित्तिकै धनुकाँडले मलाई छाडेन ।' पोखरामा थकाली समुदायसँग फागु पर्व मनाउँदा उनले धनुकाँड हानेका थिए ।

तुलनात्मक रूपमा स्वच्छ र व्यावसायिक प्रहरीको छवि बनाएका पूर्वप्रहरी उच्च अधिकारीहरूको सानो सूचीमा बान्तवा पनि पर्छन् । चलखेलकै कारण नेपाल प्रहरीको नेतृत्वको दौडबाट बाहिरिएका उनी आफैंले सबै योजना बनाएको सशस्त्र प्रहरीको समेत प्रमुख बन्न नपाएपछि क्षणभरमै राजीनामा ठोकेर हिँडेका थिए । माओवादीविरुद्ध लडाइँमा तत्कालीन शाही सेनाले सहयोग नगरेपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उनलाई बोलाएर सशस्त्र प्रहरीको खाका बनाउन लगाएका थिए ।


'दिनरात नभनी बनाएको सशस्त्रको संरचनाको खाका प्रस्तुत गरेपछि प्रधानमन्त्रीले नेतृत्व तपाईंले नै लिनुपर्छ भनेर हात मिलाए,' उनी सम्झिन्छन्  तर रातारात कुरा फेरिएछ । किन फेरियो, उनैलाई थाहा छैन ।

सुन पसलहरूबाट सशस्त्रको प्रमुख बनाउन पैसा उठाएको कुरा आफन्तले सुनाएका थिए । धेरै पछि विवेक शाहले बान्तवालाई केही दरबारियाले नरुचाएको कुरा किताबमा उल्लेख गरे ।

जागिर पाएका बेला पनि पहिलो चोटि बावुआमालाई भन्न गएका उनी छाड्नबित्तिकै तिनैलाई सोध्न पुगेका थिए । 'अन्तरआत्माले जागिर नखा भन्यो,' बावुआमालाई सोधेको क्षण सम्झन्छन् उनी, 'खुसीसाथ सहमति जनाउनुभयो ।' डेढ वर्ष रहँदै उनले एआईजीको आकर्षक जागिर त्यागेका थिए । तर अहिले त्यही पदका आधा दर्जन प्रहरी कानुनअनुसार अवकाश पाउने बेला भएपछि २ वर्ष जागिर थपाउन गुहार माग्दै अदालत पुगेका छन् । 'इमानदार भएर काम गर्दा पनि ब्रह्म खुसी हुँदैन भने छाड्नुपर्छ,' यस्तै सोच्छन् उनी ।

आर्चरीका राष्ट्रिय खेलाडी बनेका उनले सार्कस्तरीय च्याम्पियनसिपमा रजत पदक जितिसकेका छन् । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भिड्ने क्रम जारी छ । विगत र उमेर दुवैले कतैबाट पनि छोएको छैन उनको आर्चरी वृत्तिमा । 'विदेश खेल्न जाँदा युवा खेलाडीहरूले मलाई बाजे भन्छन्,' उनी भन्छन् । उनको खुसीचाहिँ तिनै युवासरह उच्च मनोबल र फुर्तिसाथ खेल प्रतिस्पर्धा गर्न पाउनुमा छ । खेलमा लागेपछि बिल्कुल फरक जीवन शैलीमा रमाएका बान्तवालाई बेलाबेला आफूले जवानी खर्चेको संगठनको हल्लाखल्लाले नछुनेचाहिँ होइन । 'फेरि चलेको छ नि दौड,' नयाँ प्रहरी प्रमुख नियुक्तिको माहौलप्रति इंगित गर्दै भने । यतिखेर उनलाई एउटै सरोकारले छुन्छ, फेरि अर्को मान्छे आफूजस्तै सिकार बन्ने हो कि । 'प्रोफेसनललाई जिम्मा दियो भने देशको कल्याण हुन्छ,' उनी भन्छन् । दुनियाँमा के-के भइरहेछ, त्यसभन्दा फरक सोच्ने र चल्ने मान्छे भन्न रुचाउँछन उनी । उनलाई संसारको प्राचीनतम खेल धनुकाँडको संग्रहालय बनाउने धोको छ । त्यसका लागि विभिन्न देशमा प्रयोग हुने धनु, वाणहरूको संकलनसमेत गरिसकेका छन् । त्यसबाहेक फेसबुकमार्फत संसारका आर्चरीप्रेमीहरूमाझ नेपाली परम्परागत धनुकाँडबारे प्रचासप्रसार गर्ने काममा पनि जुटेका छन् । उनका अनुसार यही नै उनको अहिलेको 'प्रोफेसनालिज्म' हो ।
via- http://www.ekantipur.com/nep/2069/5/18/full-story/353965.htm








Comments

Popular posts from this blog

पृथ्वी नारायण शाहले गरेको क्रुरता र कायरतापूर्ण दमनको पछाडि अंग्रेजहरुको कुटिल रणनिती रहेको ईतिहास:

प्रस्तावित सामाजिक लोकतान्त्रिक बहुल-राष्ट्रिय पार्टीको घोषणापत्र